फोटोमा हेर्नुस्, गिरानचौरमा धुर्मुसको थाप्लोमा नाम्लो

3 3कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको काम सुरु गरेका छन्। भूकम्प गएको एक वर्ष पुगेकै दिन शिल्यान्यास गरिएपनि बस्ती निर्माणको काम बुधबारदेखि सुरु भएको छ। त्यस ठाउँमा वैशाख २९ गतेको परकम्पले पनि ठूलो क्षति गरेकाले त्यसै दिनको सम्झनामा बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ। सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पीडितलाई दशैंसम्ममा नयाँ घर हस्तान्तरण गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष एवं कलाकार सीताराम कट्टेलले बताए। यसअघि धुर्मुस सुन्तली फाउण्डेशनले काभ्रेको डाडागाउँमा २० घरको एकीकृत बस्ती निर्माण गरेको थियो। पहिलो एकीकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती निर्माण सुरु गरेको उनले बताए। पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले आर्थिक सहयोगसँगै सिमेन्ट, रड, गिट्टी, बालुवा, जस्ता निर्माण सामग्री पनि सहयोग लिने धुर्मुसले जानकारी दिए। आफुहरुले बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटिसकेकाले देश विदेशमा रहेका नेपाली र नेपालीलाई माया गर्ने दाताहरु समक्ष उनीहरुले सहयोगको अपिल गरेका छन्। बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैयाँ सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। ६५ भूकम्प पीडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थल निर्माण गर्न करिब ४ करोड रुपैयाँ लाग्ने अनुमान फाउण्डेशनले गरेको छ। ‘काम सुरु गरिसकेका छौं तर पर्याप्त रकम छैन, अन्य अत्यावश्यक भौतिक पूर्वाधारको पनि व्यवस्था गर्नुपर्नेछ त्यसैले सहयोगको निकै जरुरी परिरहेको छ’ उनले भनिन्। गिरान्चौर एकीकृत बस्ती मात्र हुने छैन, यो बस्तीलाई बालमैत्री, अपाङ्गमैत्री, खुला दिशामुक्त, सफा र सुन्दर गाउँ बनाइने उनीहरुले बताएका छन्। सरकारले तोकेको मापदण्ड अनुसार बस्तीमा भूकम्प प्रतिरोधी चार कोठे घरको साथमा एक घर, एक धारा, एक बगैंचा र एउटा सामुदायिक भवन पनि निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ।



SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment