इलाममा पहिलोपटक दूध दुहुने मेसिन भित्रियो

3 3इलाम, १३ जेठ । सूर्योदय नगरपालिकास्थित त्रिब्रदर्स गाई फार्ममा गाई दुहुनका लागि जिल्लामै पहिलोपटक मिल्किङ मेसिन ल्याइएको छ ।


पशु उत्पादन निर्देशनालय हरिहरभवन, काठमाडौँमार्फत जिल्ला पशुसेवा कार्यालयको ५० प्रतिशत अनुदान र गाई फार्मको ५० प्रतिशत लगानीमा उक्त मेसिन खरिद गरिएको हो । सूर्याेदय नगरपालिका–३ भालुखोपमा गाई फार्म सञ्चालन गर्दै आउनुभएका विष्णुकुमार रेग्मी, अरुण रेग्मी र याम रेग्मीले पोखराबाट मेसिन खरिद गरेका हुन् ।

इटालीमा बनिएको सो मेसिन रु एक लाख ८० हजारमा खरिद गरिएको फार्म सञ्चालक विष्णुकुमार रेग्मीले बताउनुभयो । विद्युत्बाट सञ्चालन हुने सो स्वचालित मेसिनबाट सहजै दूध दुहुन सकिन्छ । विद्युत् नभएको बेलामा पनि मेसिनमै जडित जेनेरेटरबाट सञ्चालन हुन्छ । सो जेनेरेटर पेट्रोलबाट सञ्चालन हुन्छ । डबल बकेट सिस्टम भएको उक्त मेसिनले १० मिनेटमा सिङ्गल बकेटमा १५ लिटरका दरले डबल बकेटमा ३० लिटर दूध दुहुन्छ ।

यहाँबाट पठाइएका दुईवटा प्रस्तावमध्ये यस वर्ष त्रिब्रदर्स गाई फार्मको मात्र प्रस्ताव स्वीकृत भई उक्त मेसिन खरिद गरिएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा पशुपति ढुङ्गानाले बताउनुभयो । मेसिनले दुहेको दूध स्वच्छ र स्वस्थ हुने बताउँदै ढुङ्गानाले भन्नुभयो, “ठूल्ठूला फार्मका लागि आधुनिक मेसिन प्रभावकारी हुन्छ ।”

मिल्किङ मेसिन प्रयोगसँगै समय र श्रमसमेत कम लाग्ने रेग्मी बताउनुहुन्छ । सरकारी अनुदानमा मेसिन पाउँदा गाई फार्म सञ्चालक उत्साहित बनेका छन् । विगत तीन वर्षदेखि रेग्मीबन्धुले गाई फार्म सञ्चालन गरिरहेका छन् ।

करिब ९० रोपनी जग्गा वार्षिक दुई लाख रूपैयाँ भाडा तिरेर रेग्मीबन्धुले २४ वटा होलिस्टिन जातका गाई पालेका छन् । ती गाईबाट दैनिक १५० लिटरसम्म दूध उत्पादन हुने गरेको फार्म सञ्चालक अरुणले बताउनुभयो ।


१५१९२ पटक हेरिएको
तपाईको प्रतिक्रिया
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment