चिनियाँ लगानीमा नवलपरासीमा देशकै ठूलो सिमेण्ट उद्योग बन्दै, दैनिक २ हजारले रोजगारी पाउने

3 3चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेण्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सञ्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ ।

चिनियाँ सिमेण्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेण्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेण्ट उत्पादन गर्ने गरी होङ्सी शिवम् सिमेण्ट उद्योग स्थापना भएको हो । होङ्सी शिवम् सिमेण्ट उद्योगसम्बन्धी जानकारी दिन लगानी बोर्डले परासीमा मङ्गलबार  आयोजना गरेको अन्तरक्रियामा उद्योगका बारेमा जानकारी गराइएको थियो ।

यस वर्ष जग्गा व्यवस्थापनको काम थालिएको छ । दुईसय बिघा जग्गा आवश्यक पर्ने भएकाले यो वर्ष जग्गा व्यवस्थापनको काममा खटिएका छौँ, होङ्सी शिवम् सिमेण्टका प्राविधिक  शिवरत्न अटलले भने – ‘बाटो र विद्युतका बारे सरकारसँग कुरा भइरहेको छ ।’

‘उद्योगलाई दैनिक ५० देखि ८० मेगावाट विद्युत् आवश्यक पर्छ’, उनले भने, ‘हामीले जग्गाको व्यवस्थापनलाई स्थानीयवासीको समन्वयमा तीव्रता दिएका छौँ । एक सय बिघा प्राप्त भइसकेको छ, बाँकी खोज्दैछौँ ।’

तीन वर्षमा उत्पादन  बजारमा ल्याउने गरी कामलाई उद्योगले अगाडि बढाएको छ । यो उद्योगमा होङ्सीको ७० प्रतिशत लगानी र शिवम् सिमेण्टको ३० प्रतिशत लगानी रहेको छ ।  दैनिक दुई हजारले रोजगार पाउने भएकाले उद्योग स्थापनासँगै स्थानीयवासी खुसी भएका छन् ।  पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिंकर) ल्याउने र  सिमेण्ट उत्पादन हुँदा अहिलेको बजारमा ३० प्रतिशत आपूर्ति गर्ने बताइएको छ ।

स्वदेशमै उत्पादन भइरहेको सिमेण्टले अहिले ७० प्रतिशत बजार ओगटेको छ  बाँकी ३० प्रतिशत यसको उत्पादनले आपूर्ति गर्छ, होङ्सी शिवम् सिमेण्टका प्राविधिक अटलले भने – ‘देशभित्रको बजारलाई पूर्ति गरेपछि बाहिर पनि पठाउन सकिन्छ ।’ शुरुको वर्ष ६ हजार मेट्रिक टन उत्पादन भएपनि दोस्रो चरणबाट १२ हजार मेट्रिक टन दैनिक सिमेण्ट उत्पादन हुने उनले बताए । ओपिसी र पिपिसी दुवै सिमेण्ट यहाँ उत्पादन हुन्छ ।

लगानी बोर्डका सहसचिव रवि भट्टराईले उद्योगको स्थापनाबाट हुने फाइदाका बारेमा बताए । ‘लगानी बोर्डको काम उद्योगपतिको समस्या समाधान गर्ने र लगानी भित्र्याउने हो त्यसमा प्रधानमन्त्रीको निर्देशन पनि छ, हामी काममै लागेका छौ’,  उनले भने – ‘जिल्लाका जनप्रतिनिधि र स्थानीयवासीको सकारात्मक भावनाले हामीलाई उत्साहित बनाएको छ ।’ रासस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment