राजा त्रिभुवनकी डाक्टर छोरी जसलाई राजखानदानको भनेर कसैले चिन्दैन, को हुन उनि ?

3 3‘नमस्कार हजुर ! मलाई चिन्नुभयो ? हजुर डाक्टरसाब होइन र ?’

बाटोघाटोमा हिँड्दा होस् या जमघटमा, प्रा.डा. दिव्यश्री मल्ललाई यसरी अभिवादन टक्र्याउने प्रशस्त हुन्छन् । पाँच दशकभन्दा बढी समय चिकित्सा र प्राध्यापनमा बिताएकी डा. मल्लले कतिलाई चिनुन् ? कतिलाई सम्झिउन् ?
आफ्नो करिअरमा उनले हजारौँ बिरामीको निष्ठापूर्वक सेवा गरेकी छन् । मृत्युको मुखमा पुगेकाहरुको ज्यान जोगाइदिएकी छन् । आफ्नो कर्मयात्रामा यो वा त्यो बहानामा उनी कहिल्यै पछि हटिनन् । यसरी सेवा दिएका बिरामीको अनुहारको हिसाबकिताब कसरी राख्ने ?
डाक्टरी पेसाको सबभन्दा आनन्द यहीजस्तो लाग्छ डा. मल्ललाई । भन्छिन् पनि, ‘यसमा जति ह्यापिनेस अरु कुनै पेसामा छैन । यस्तो जोय पैसाले किन्न पाइँदैन ।’ मान्छेको ज्यान जोगाउँदाको अपार खुसी र सन्तुष्टि अरु पेसामा छैन पनि ।
नेपालको स्त्रीरोग तथा प्रसूति रोग क्षेत्रकी अग्रणी विशेषज्ञ डा. मल्लले ८१ वर्षको उमेर पुगेपछि चिकित्सा सेवा र प्राध्यापनबाट बल्ल फुर्सद पाएकी छन् । नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेजलाई एक वर्षदेखि कचकच गरेपछि गत फागुन २० मा बल्लबल्ल बिदा पाइन् उनले ।
बिदाको एक महिनापछि छाउनीको टुप्पोमा रहेको बंगलामा भेटिएकी डा. मल्ल निजी पुस्तकालयको किताब मिलाउँदै थिइन् । उनका रुचिका काम कति छन् कति ? यस्तो लाग्छ, ज्यादा समय लिनु पनि एक प्रकारले उनको तन्मय बिथोल्नु हो । बडो शिष्ट, शालीन र सक्रिय व्यक्तित्वकी धनी डा. मल्ल नेपाली चिकित्सा क्षेत्रकी एक जीवित इतिहास हुन् ।
डा. मल्ल जन्म सन् १९३४ सेप्टेम्बर १९ मा भयो, काठमाडौँको सिफलमा । उनी आफ्नो पारिवारिक पृष्ठभूमि खुलस्त रुपमा बताउन चाहँदिनन् । उनको औपचारिक कागजातमा पिताको नाम टीबी शाह छ भने माताको नाम मेरी रोज । तर, विकिपिडियाले भने उनलाई बेग्लै रुपमा चिनाएको छ । स्वर्गवासी राजा त्रिभुवनकी छैटौँ नम्बरकी छोरीका रुपमा ।
विकिपिडियाका अनुसार राजकुमारी दिव्येश्वरी राज्य लक्ष्मी देवी नै डा. दिव्यश्री मल्ल हुन् । राजकुमारी भए पनि उनको लालनपालन नारायणहिटी राजप्रासादमा भएको देखिँदैन । पाँच वर्षको उमेरसम्म सिफलमै बित्यो । त्यसपछि मात्र उनलाई राजधानी सहरतिर आउने मौका मिल्यो ।
त्यस बेलाको सिफल सामान्य गाउँजस्तो थियो । केलटोलमा आएपछि उनका टोलछिमेकी साथी नेवार थिए । अनि उनले पनि आफ्नो घरमा कुरा गर्दा नेवारी घुसाउन थालिन् । यसरी बोल्दा उनलाई रमाइलो पनि लाग्थ्यो ।
डा. मल्लकी प्रथम गुरु भनेकै आमा हुन् । औपचारिक शिक्षा नभए पनि आमामा अनौपचारिक ज्ञान प्रशस्त थियो । उनलाई स्कुल पठाइएन लामो समय । भनिएछ, ‘तिमीलाई जति पढ्न मन लाग्छ, घरमै पढाउने व्यवस्था हुन्छ ।’
२००४ सालमा आएर बल्ल उनलाई दरबार हाइस्कुलमा पठाइयो । उनलाई पाँच कक्षामा पढ्न पठाइएको थियो । तर, स्कुलले उनलाई कक्षा ६ मा भर्ना गरिदिएछ । कता कताबाट एक दिन त उनी जुलुसमा पुगिछन् झन्डा बोकेर । घरमा खबर पुगिहाल्यो । उनले चलाखी गरिछन्, ‘म जुलुसमा गएकी छैन । गएकी भए फोटो देखाउनुस् ।’ त्यो जमानामा उनको फोटो कसले खिच्ने, कसले देखाउने ?
२००८ सालमा म्याट्रिक गरेपछि उनीसहित आठ छात्राले त्रिचन्द्र कलेजमा साइन्स पढ्ने इच्छा गरेछन् । त्रिचन्द्रमा त्यतिबेलासम्म छात्रालाई साइन्स पढ्ने अनुमति नै थिएन । त्यसैले थप अध्ययनका लागि देशबाहिर जानुप¥यो ।
त्यतिबेलासम्म उनले परदेश त परै जाओस्, काठमाडौँबाहिर समेत पाइला राखेकी थिइनन् । ‘कतिसम्म भने म कपाल कोर्नै जान्दैनथेँ, सधैँ मुमाले कोरिदिनु हुन्थ्यो,’ उनी सम्झिन्छिन्, ‘दिल्ली गएर मैले कपाल कोर्न सिकेँ । चुल्ठो बाँध्न सिकेँ ।’
उनले भारतको नयाँदिल्ली गएर उनले साइन्स पढ्न चाहिन् । तर, उनी थिइन्, नन्–साइन्स स्टुडेन्ट । दरबार हाइस्कुलमा उनले म्याथमेटिक्स र साइन्स पढेकै थिइनन् । तर, म्याथमेटिक्समा चाख भने थियो ।
नन्–साइन्स स्टुडेन्टका लागि कलेजले प्रवेश परीक्षा नै लिने भयो । प्रिन्सिपल मिस्टर बेगसहित तीन जनाले अन्तर्वार्ता लिए, ‘तिमी कसरी साइन्स पढ्छौ ?’
‘मलाई कोसिस गर्न दिनुस् । फेल भए पनि मै हुने हो ।’
उनको आत्मविश्वास देखेर प्रिन्सिपलले तत्काल आईएस्सीमा भर्ना गर्ने आदेश दिए । तर, उनीबाहेक अरु नन्–साइन्सवालाले भर्ना हुनै पाएनन् । उनी गएको एक महिनामै परीक्षा भयो । उनले राम्रो गर्न सकिनन् । पहिलो वर्ष जस्ट पास भइन्, दोस्रो वर्षमा अलिक राम्रो भयो ।
आईएस्सीपछि उनलाई मेडिसिनतिर जाने साहस पलाइसकेको थिएन । साथीहरुले ‘ल हामीसँग हिँड्’ घचेटेर लगे एमबीबीएस प्रवेश परीक्षामा । परीक्षा दिएको केही दिनपछि साथीहरुले नै खबर ल्याए, ‘तँ पास भइस् ।’ उनलाई अहिले पनि लाग्छ, ‘मैले आफ्नोभन्दा पनि साथीहरुका कारण लेडी हार्डिङ मेडिकल कलेजबाट एमबीबीएस डिग्री लिएकी हुँ ।’
उनको विशेष सपना केही थिएनन् । उनको पालामा महिलाका निम्ति लायक पेसा पनि खासै थिएनन् । समाजले अलिकति जानेको, बुझेको पेसा त्यही डाक्टरी थियो । एमबीबीएस गरेर फर्केपछि वीर अस्पतालको महिला वार्ड तथा प्रसूति वार्डमा चार जना डाक्टरमध्ये उनी एक्ली महिला थिइन् । त्यतिखेर नेपाली महिला डाक्टर सावित्री गुरुङ, सेफालिका प्रधान, कान्ति गिरीलगायत थिए ।
दुई वर्षपछि पोस्ट ग्य्राजुएसनका लागि उनी बेलायतको सुप्रसिद्ध द रोयल कलेज अफ अब्स्टेट्रिसियन एन्ड गाइनेकोलोजिस्टस् (एमआरसिओजी) गइहालिन् । पोस्ट ग्य्राजुएसन त भइहाल्यो, त्यहाँ उनले ड्राइभिङ, स्विमिङ, हर्स राइडिङलगायत अतिरिक्त सोख पनि पूरा गरिन् ।
ड्राइभिङ लाइसेन्स पाएको दिन उनले डीआरसीओजी गरेको दिनभन्दा ज्यादा बधाई पाइन् । थुप्रैले बधाईका साथै फूल, केक र चकलेट उपहार पठाए उनलाई । त्यो दिन उनलाई अझै पनि सम्झिरहन मन लाग्छ । नयाँदिल्लीमा पढ्दा उनी होस्टेलबाट कलेजसम्म साइकलमै जान्थिन् ।
सन् १९६८ मा डा. मल्ल नेपाल आइन् ३१ महिनाको कोर्स सकेर । वास्तवमा उनी नेपालबाट एमआरसीओजी गर्न जाने पहिलो महिला डाक्टर थिइन् । उनीभन्दा पहिले एमआरसीओजी गर्ने डा. कान्ति गिरी भने भारतबाट गएकी थिइन् ।
डा. मल्ल वीर अस्पतालकै काममा फर्किइन् । तर, त्यतिबेलासम्म वीरको प्रसूति वार्ड प्रसूति गृहमा गाभिइसकेको थियो । डा. मल्ल प्रसूति गृहमा जाँदा जम्मा ४० बेड थियो भने छाड्दा दुई सयभन्दा बढी बेड भइसकेको थियो ।
प्रसूति गृह अस्पतालको पहिलो प्रमुख भइन्, डा. कान्ति गिरी । त्यसपछि त्यो जिम्मेवारी उनले सम्हालिन् । पछि प्रसूतिगृहमा डा. सावित्री गुरुङ आउँदा उनलाई अप्ठ्यारो प¥यो । आफूभन्दा सिनियरको हाकिम कसरी हुने ? मन्त्रालयलाई पनि कसरी देऊ भन्ने ? उनको भावनाअनुसार नै डा. गुरुङ डाइरेक्टर भइन् भने डा. मल्ल डेपुटी डाइरेक्टर । उनले एडमिनिस्ट्रेसन प्लस क्लिनिकल पाटो हेरिन् ।
प्रसूति गृह अस्पतालमा डा. मल्लले मेडिकल सुपरिटेन्डेन्ट, डेपुटी डाइरेक्टरदेखि डाइरेक्टर हुँदै अध्यक्षको जिम्मेवारी समेत सम्हालिन् । उनको अर्जुनदृष्टि महिला तथा बालबालिकाको स्वास्थ्यका साथै प्रसूति सेवामा कसरी अन्तर्राष्ट्रिय स्तर दिन सकिन्छ भन्ने नै रह्यो । उनले विश्व स्वास्थ्य संगठनको म्याटर्नल मोडालिटी पछ्याइन् ।
अवस्था कस्तो थियो भने अस्पतालमै पनि ज्यादातर बच्चाहरु निमोनिया भएर अर्थात् चिसिएर मर्थे । तिनका लागि थर्मल कन्ट्रोलको समेत व्यवस्था भयो । नयाँ नयाँ प्रविधि भित्र्याउन अर्थ मन्त्रालय पनि सहयोगी भइदियो र आमूल सुधार सम्भव भयो ।
पछि गएर डा. मल्ल प्राध्यापनतिर मोडिइन् । पोस्ट ग्य्राजुएट प्रोग्रामको कोअर्डिनेटर भएर काम गरिन् । सन् २००३ देखि २००६ सम्म नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (नाम्स)को डिन भइन् । वीर अस्पतालको डाइरेक्टर पनि भइन् । त्यसबीचमा अर्थात् १९९१ देखि १९९४ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषदकी उपाध्यक्षको जिम्मेवारी पनि उनको काँधमा आइप¥यो । उनले सरकारी जागिरे जीवन छाडेको सन् २००८ सालमा हो ।
त्यसपछि नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेजमा अनुबन्ध भइन् डा. मल्ल । नेपाली सेनाको मेडिकल कलेजमा प्राध्यापन गर्ने भए पनि उनको मुकाम भने वीरेन्द्र अस्पताल छाउनी नै हुन्थ्यो । त्यहाँ पाँच वर्ष बिताएपछि बल्ल उनले औपचारिक रुपमा प्राध्यापनबाट विश्राम लिएकी हुन् ।
डा. मल्लको कार्यक्षेत्र प्राज्ञिक अध्ययन, अनुसन्धान पनि हो । उनका ‘रिसर्च रिपोर्ट अन पर्फमेन्स स्ट्यान्डर्ड एन्ड बेन्चमार्क स्टाबिलिस्मेन्ट एट म्याटर्निटी हस्पिटल’, ‘इसेन्सिएल अब्स्टेट्रिक फङसन्स’, ‘गाइडलाइन्स फर द डक्टर्स वर्किङ एट प्रसूति गृह हस्पिटल’ आदि उनका पुस्तक प्रकाशित छन् ।
हुनलाई डाक्टरी दुखिया पेसा नै हो । यसमा दिनरात भन्न पाइँदैन । उनलाई यसरी बिरामीको सेवामा जुट्न आफ्नो पतिको सहयोग ज्यादै ठूलो लाग्छ । उनलाई पछिल्लो समयका डाक्टरहरु आफूहरुभन्दा पनि मिहिनेती र समर्पित लाग्छन् । ‘पैसा कमाउने त कसको इच्छा हुँदैन र ?’ उनी भन्छिन्, ‘डाक्टर धेरै बन्न पैसा चाहिन्छ तर सेवाभाव नभए डाक्टरी पेसा गर्न सकिँदैन ।’
सन् १९६७ मै एमआरसीओजीको प्रोफेसनल मेम्बरसिप पाएकी हुन् डा. मल्लले । बेलायत, बंगलादेश र पाकिस्तानको पोस्ट ग्य्राजुएट प्रोग्रामको परीक्षक भएर काम गरिन् सन् १९८७ देखि २००० सम्म । यसबाहेक एमआरसीओजीको इन्टरनेसनल रिप्रेजेन्टेटिभ कमिटीको अध्यक्षता पनि गरिन् सन् २००७ देखि २०१२ सम्म ।
लन्डनस्थित एमआरसीओजीबाट फर्केको एक वर्षपछि अर्थात् सन् १९६९ मा उनको मागीविवाह भयो, नारायणचन्द्र मल्लसँग । संयोग के भने, बिहे भएको एक वर्षपछि मल्ल लन्डनस्थित नेपाली दूतावासमा मिलिटरी एट्याची भएर गए । बिदा मिलाएर उनी पनि लन्डन बसिन् एक, डेढ वर्ष । उनका पति नेपाली सेनाका ब्रिगेडियर जनरल भएर अवकाश जीवन बिताइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक बासुदेवचन्द्र (बीसी) मल्ल उनका जेठाजु हुन् । अध्ययनका क्रममा लामो समय देशबाहिर बसेकाले उनलाई नेपालको शिक्षा र कानुनबारे त्यति जानकारी थिएन । त्यसको अभाव हुन दिएनन्, जेठाजु बीसी मल्लले । उनी साँझपख घुम्टी हालेर जेठाजुसँग बस्थिन् र त्यसबारे अध्ययन गर्थिन् ।
जीवनमा उनले यो गर्छु, त्यो गर्छु भनेर कहिल्यै लक्ष्य बनाइन् । जे आइप¥यो, त्यसलाई स्वीकार्दै गइन् । समाजसेवा त उनको रगतमै छ । नेपाल अपांग संघ र खगेन्द्र नवजीवन केन्द्रमा आबद्ध रहेर उनले लामो समय त्यसका लागि दिलोज्यान दिइन् ।
घरमा फुर्सद पायो भने गार्डेनमा पसिहाल्छिन् । गार्डेनमा काम गर्दा उनलाई समय गएको पत्तै हुँदैन । पट्याङपुटुङ म्युजिक पनि बजाइहाल्छिन् । कुनै बेला उनको घरमा म्युजिकको माहोल थियो । उनकी मामाकी छोरी सुमित्रा श्रेष्ठ तबलामा पारंगत थिइन् ।
कवि हृदय पनि छ डा. मल्लमा । विद्यार्थी जीवनमा उनले थुप्रै कविता कोरिन् । इतिहास र जीवनीमा उनको रुचि छ । बच्चा बोकेर ल्याबमा काम गरेका म्याडम क्युरीजस्ता पात्रका जीवनी उनी खोजीखोजी पढ्छिन् ।
कतिपय शुभचिन्तकले उनलाई अटोबायोग्राफी लेख भनेर निरन्तर घचघच्याइरहेका छन् । डा. मल्ल तिनीहरुलाई सम्झाइरहेकी हुन्छिन्, ‘भरखर त एक महिना भएको छ अवकाश पाएको । मलाई सोच्न देऊ । त्यसको पनि समय आउला ।
स्वास्थ्यखबर पत्रिकाबाट
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment