लुम्बिनीमा बुद्ध जयन्तीका लागि तयारी हुँदै

3 3


लुम्बिनी (रुपन्देही), २ जेठ । बुद्ध जन्मस्थल लुम्बिनीमा मनाउन लागिएको २५६०आँै बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०७३ को तयारी तीव्र गतिमा भइरहेको छ ।


बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।

त्यसैगरी, बुद्ध जयन्तीका अवसरमा काठमाडाँैमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव प्रेमबहादुर राईले ‘नेपाल ः भगवान् बुद्धको जन्मस्थल एवम् बुद्ध धर्मको उद्गमस्थल’ विषयमा हुने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा २४ वटा लुम्बिनी तथा बुद्ध दर्शनसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो । उहाँका अनुसार २४ वटा कार्यपत्रमध्ये १८ वटा विदेशी तथा छ वटा नेपालीले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

आज मध्याह्नसम्म थाइल्यान्ड र श्रीलङ्काबाट मन्त्रिस्तरीय प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिने सुनिश्चित भएको तथा अन्य मुलुकबाट पनि उच्चस्तरीय प्रतिनिधिमण्डल आउने सूचना प्राप्त भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव राईले जानकारी दिनुभयो ।

“चाँैतीस मुलुकका संस्कृतिमन्त्री, बौद्ध भिक्षुलगायत बौद्ध धर्मका जानकार विद्वान् विदुषीलगायत ४५० जनालाई निमन्त्रणा गरेका छौँ,” सचिव राईले भन्नुभयो– “कुनैकुनै देशबाट ‘कन्फर्मेसन’ प्राप्त भइरहेको छ । केहीको आउन बाँकी छ ।”

उहाँका अनुसार राजधानीमा दुईदिने सम्मेलन समाप्त भएपछि आगामी शनिबार लुम्बिनीमा आयोजना हुने २५६०औँ बुद्ध जयन्ती समारोहमा पनि विदेशी पाहुना र विशिष्ट व्यक्तिलाई सहभागी गराई लुम्बिनीका बुद्धसँग सम्बन्धित स्थलहरुको भ्रमण गराइने छ ।

काठमाडौँमा हुने गोष्ठीको घोषणापत्र भने लुम्बिनीमा आयोजित २५६०औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०७३ मा आगामी ८ गते जारी गरिनेछ जसको नाम ‘काठमाडाँै लुम्बिनी घोषणापत्र’ राखिनेछ ।

अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी तथा २५६० औ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०७३ शाक्यमुनि बुद्धको जन्म, बुद्ध धर्मको सुरुवात र यसको मुहान लुम्बिनी भएको प्रमाणित गर्न सहयोगीसिद्ध हुने विश्वास पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले व्यक्त गर्नुभयो । उहाँले लुम्बिनीमा हुने बुद्ध जयन्तीलाई भव्यरुपमा सफल पारिने र त्यसमा सात हजारभन्दा बढीको सहभागिता गराइने जानकारी दिनुभयो ।

आगामी जेठ ८ गते आयोजना गर्न लागिएको २५६०आँै बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसका लागि लुम्बिनीमा सरसफाइको काम तीव्रगतिमा अगाडि बढाइएको छ । प्रचार अभियानलाई पनि सँगसँगै अघि बढाइएको छ ।

मायादेवी मन्दिरको बाहिरी भाग रङ्रोगन गर्ने काम सकिएको छ भने भित्री भाग रङ्रोगन भइरहेको छ ।

त्यसैगरी, पोखरी र केन्द्रीय नहर सफा गर्ने, कार्यक्रम स्थल सिंगार्ने तथा हेलिप्याड निर्माण गर्ने काम पनि अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो ।

मञ्च निर्माण तथा व्यवस्थापनका लागि रु ३० लाखमा पटवा टेन्ट हाउसलाई जिम्मा दिइएको सदस्य सचिव तामाङले जानकारी दिनुभयो ।

लुम्बिनीस्थित लुम्बिनी सङ्ग्रहालय नजिक आयोजना गरिने कार्यक्रममा एक हजार जना लामा गुरु सहभागी हुनेछन् । अहिंसावादी बौद्ध धर्म चक्र सङ्घबाट २५० लामा तथा आनी पूजाआजामा सहभागी हुनेछन् । उहाँहरुबाट विश्व शान्तिको कामनासहित जेठ ८ गते मायादेवी मन्दिरमा पूजाआजा गर्ने र त्यसपछि कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कार्यक्रममा सहभागी हुन काठमाडाँैबाट १५० जना लामा गुरु आउने कार्यक्रम रहेको छ भने नेवार समुदायको धाःबाजा प्रदर्शन गरिनेछ । ¥यालीमा बुद्ध विरही समूहको नाच र थारुको लठ्ठी नृत्य रहनेछन् ।

त्यसैगरी, लुम्बिनीस्थित मैलावार बजारमा व्यवसायीले दीप प्रज्ज्वलन गर्नेछन् । उनीहरुले तीन दिनसम्म दीप प्रज्ज्वलन गर्ने बताइएको छ ।

बुद्धको अस्थि धातु दर्शन गराइने

बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसमा सहभागी हुने श्रद्धालुजनलाई बुद्धको अस्थि धातु दर्शन गराइने तयारी भइरहेको कोषका सदस्य सचिव तामाङले जानकारी दिनुभयो ।

त्यसैगरी, बुद्ध जयन्तीको अघिल्लो दिन ७ गते राति ८ बजेदेखि ८ गते बिहान ८ बजेसम्म डा अनुजा अनगारिकाको नेतृत्वमा अहोरात्र परित्राण पाठ गरिने छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment