अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आजदेखी शुरु, गोष्ठीमा सहभागी हुन २८ देशका प्रतिनिधि काठमाडौंमा

3 3


काठमाडौँ,६ जेठ - २५६० औँ बुद्ध जयन्तीका अवसरमा बिहीबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तयारी पूरा भएको छ।

सम्मेलन मूल आयोजक समारोह समितिले बुधबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा र बुद्ध जयन्ती समारोह लुम्बिनीमा हुनेछ। गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् भने बुद्ध जयन्ती समारोहको लुम्बिनीमा ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ।

गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वानको सहभागिता रहनेछ। गोष्ठीमा भाग लिने पाहुनाको आउनेक्रम जारी छ।

‘लुम्बिनी, नेपाल : भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र छ नेपाली गरी २८ विद्वानले कार्यपत्र प्रस्तुत गर्नेछन्।

मूल गोष्ठीमा निस्किएको निष्कर्षको बुद्ध जयन्ती समारोहस्थल लुम्बिनीमा घोषणापत्र जारी गरिने छ जसमा अन्तर्राष्ट्रियस्तरको संयन्त्र निर्माणसहित कार्ययोजना रहने छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले गोष्ठीले भगवान् बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रका रुपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले गोष्ठीले लुम्बिनीका अतिरिक्त अन्य बौद्ध केन्द्र तिरौलाकोट, देवदह, रामग्रामको समेत प्रचारप्रसार र विकासका लागि आधार निर्माण गर्ने र आन्तरिक बुद्ध परिक्रमा पथ निर्माणमा मद्दत पुर्याउने विचार व्यक्त गरे।

यसैबीच, २५६० औँ बुद्ध जयन्तीका अवसरमा विश्वशान्तिको कामना गर्दै ‘शान्तिका लागि साइकल यात्रा’ अभियानले बुधबार साइकल यात्रा सुरु गरेको छ।

मन्त्री पोखरेलले सो साइकल यात्राको स्वयम्भूबाट साइकल चढेर यात्राको शुभारम्भ गरेका थिए।

विश्व साइकल यात्री पुष्कर शाहसहित करिब २६० साइकल यात्री स्वयम्भू परिक्रमा गरी लुम्बिनी प्रस्थान गरेको छ। विदेशबाट आभएका अतिथिलाई पनि साइकल चढाएर प्रदूषणरहित लुम्बिनी बनाउने अभियानमा सहभागी गराइने भएको छ। रासस
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment