चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुरः प्रधानमन्त्री

3 3


काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ सन् २०१६ भित्र नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गरेका छन्।

चीनका सञ्चारमन्त्री काई फुचाओसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै हुने अपेक्षा व्यक्त गरेका हुन्।'चैत पहिलो साता सम्पन्न मेरो भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका भेट मेरा लागि सुखद रहे।


सन् २०१६ भित्र चिनियाँ राष्ट्रपति नेपाल आउनुहुनेछ भन्ने मेरो विश्वास छ। नेपाल सरकार र जनता उहाँलाई स्वागत गर्न आतुर छन्', प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै विदेश मामिला सल्लाहकार गोपाल खनालले भने।

भारतको गोवामा आगामी अक्टोबरमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन आउँदा राष्ट्रपति सीले नेपाल र बंगलादेश भ्रमण गर्नसक्ने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताएका हुन्।

चीनका सञ्चारमन्त्री काईले ओलीको सन्देश चिनियाँ राष्ट्रपतिसमक्ष पुर्याउने बताए। भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ मालवाहक रेल लान्झाऊबाट सिगात्से हुँदै नेपालतर्फ आउन लागेबाट आफू उत्साहित भएको बताएका थिए।

चीनले बिहीबार दैनिक उपभोग्य सामान बोकेको रेल गान्सु प्रान्तको लान्जाऊबाट तिब्बतको सिगात्से हुँदै नेपालका लागि सामान लोड गरेर पठाएको थियो। नेपाल—चीन सीमा क्षेत्र केरुङ हुँदै १० दिनमा उक्त रेलमा लोड गरिएका सामान काठमाडौं आइपुग्ने बताइएको छ।

अहिले भारतबाट समुद्री मार्ग हुँदै नेपालसम्म चिनियाँ सामान आइपुग्न ३० दिन लाग्छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र चिनियाँ सञ्चारमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र दुई देशबीचका सञ्चारमाध्यमको सहकार्य र विकास तथा पत्रकारको भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भेटका अवसरमा चीनका सञ्चारमन्त्रीले चीन र नेपाल दुई असल छिमेकी भएको र दुई देशको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गरे। उनले चीनको सीसी टीभीले 'नेपाल जाऔं' भन्ने वृत्तचित्र निर्माण र प्रसारण गरेर नेपालप्रति चिनियाँ आकर्षण बढाएको बताए।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयन गर्न पनि आफू नेपाल भ्रमणमा आएको चिनियाँ सञ्चारमन्त्रीले बताएका थिए।प्रधानमन्त्री ओलीले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेकाले चिनियाँ सञ्चारमाध्यममार्फत चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा प्रेरित गर्न आग्रह गरेका थिए।

'हामी चीनको विकास र अनुभवबाट लाभ लिन चाहन्छौं। हामी चीनसँग सहकार्य र सहयोगको थप अपेक्षा गर्दछौं', प्रधानमन्त्रीले भेटमा भने। उनले विभिन्न माध्यमबाट नेपाल-चीनबीच कनेक्टिभिटी बढिरहेको र बिहीबार मात्र नेपाल र चीनबीच अप्टिकल फाइबरको सञ्जाल स्थापित भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका बेला भएका सम्झौता र समझदारी कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले उच्चस्तरीय कार्यदल गठन गरेको जानकारी पनि चिनियाँ सञ्चारमन्त्रीलाई गराएका थिए।

उनले भूकम्पका बेला चीन सरकारले पुर्याएको सहयोग र अहिले पुनर्निर्माणमा पुर्याइरहेको सहयोगको प्रशंसा पनि गरे। प्रधानमन्त्रीले चीनले अघि बढाएको वान बेल्ट वान रोडको नीतिले चीनको आफ्नो मात्र होइन, छिमेकीको समेत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेको चिनियाँ सञ्चारमन्त्री नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले शुक्रबारै सञ्चारमन्त्री शेरधन राईसँग सिंहरबारमा भेटवार्ता गरेको छ। भेटमा नेपाल र चीनबीच सञ्चार, सूचना तथा प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका विषयमा कुराकानी भएको थियो। चिनियाँ प्रतिनिधिमण्डल शनिबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ।


उपराष्ट्रपतिलाई चीन भ्रमणको निम्तो

यसैबीच नेपाल भ्रमणमा रहेको अर्को एक चिनियाँ प्रतिनिधिमण्डलले उपराष्ट्रपति नन्दबहादुर पुनलाई चीन भ्रमणको निमन्त्रणा दिएको छ। युनान प्रान्तका जनकंग्रेसका स्थायी समिति उपप्रमुख चाङ पायरु नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलले उपराष्ट्रपतिलाई चीन भ्रमणका लागि निमन्त्रणा हस्तान्तरण गरेका हो।

उपराष्ट्रपति भवन बहादुरभवनमा शुक्रबार भएको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले आगामी जुन १२ देखि १७ सम्म युनान प्रान्तको कुन्मिङ सहरमा आयोजना हुने 'चौथो चीन-दक्षिण एसिया व्यापार मेला तथा २४ औं चीन—कुन्मिङ आयात निर्यात व्यापार मेला' को उद्घाटन समारोह तथा अन्य प्रमुख कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भइदिन निमन्त्रणा गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment